पोखराका वडामै मेलमिलाप केन्द्र

पोखरा महानगरपालिकाले वडा तहमै विवाद समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना सुरु गरेको छ । वडाभित्र हुने विवादलाई त्यही समाधान गर्ने गरी महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरेको हो ।


‘वडाभित्रका विवाद मिलाउने जिम्मा अब वडाभित्र रहेका मेलमिलापकर्ताको जिम्मा लगाएका छौं,’


पोखरा महानगर न्यायिक समितिले आइतबार वडा नम्बर ७ बाट मेलमिलाप केन्द्र स्थापना सुरुआत गरेको हो । पोखरा महानगरका कार्यबाहक प्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्र उद्घाटन गरिन् । उनले वडा तहमा हुने विवादलाई वडा तहबाटै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् ।


‘वडाभित्रका विवाद मिलाउने जिम्मा अब वडाभित्र रहेका मेलमिलापकर्ताको जिम्मा लगाएका छौं,’ उनले भनिन्, ‘विवाद समाधानमा सहज हुनेछ ।’ उनले स्थानीय तहमा हुने विवादलाई स्थानीय तहमै समाधान गर्ने उद्देश्यले न्यायिक समिति गठन भएको बताइन् ।


कार्यक्रममा महानगर न्यायिक समितिका उजुरी प्रशासक नारायण शर्मा र अभिलेख संरक्षक राममणि अधिकारीले न्यायिक समितिको कार्यक्षेत्र, न्यायिक समितिले निरुपण गर्ने विवाद, मेलमिलापकर्ता छनोटका आधार लगायत न्यायिक समितिबारे जानकारी गराएका थिए ।


मेलमिलापकर्ता समाज कास्की अध्यक्ष सोम श्रेष्ठले मेलमिलापमार्फत विवाद समाधान हुँदा मन माझिने बताए । उनले मुद्दा मामिलाबाट कटुता हुने भएकाले मेलमिलापबाट दुवैले जित्ने बताए । कार्यक्रममा न्यायिक समिति सदस्य किशोर बरालले कार्यक्रमका बारेमा जानकारी गराउदै पोखराका ३३ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिने उल्लेख गरे ।


कार्यक्रम वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको हो । पोखरा महानगरको न्यायिक समितिले पछिल्लो समय गति लिएको छ । ८८ जना मेलमिलाकर्ता छनोट भएका छन् ।

वडामा मेलमिलापक केन्द्र स्थापना गर्न ३ जना मेलमिलापकर्ता हुनुपर्ने व्यवस्था छ । वडा नम्बर ७ मा कल्पनाकुमारी भण्डारी, केशवराज बराल र लीलाबल्लौ न्यौपाने मेलमिलापकर्तामा सूचिकृत छन् ।