गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समय अघि नै बन्दै

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा अघि बढेको छ। धावनमार्गमा कालोपत्रे सहितका अन्य संरचनाको निर्माणलाई तीव्र पारिएको हो। हालसम्म विमानस्थलको ५८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

विमानस्थलको महत्वपूर्ण पक्ष धावनमार्गको पहिलो तहमा कालोपत्रे भइरहेको छ। चार तहपछि धावनमार्ग तयार हुन्छ। एउटा तह सम्पन्न गर्नका लागि १५ देखि १८ दिन लाग्छ। अन्य तहभन्दा पहिलो तहको काम गाह्रो हुन्छ। आयोजनाका अनुसार धावनमार्गको पहिलो तहको ५० प्रतिशत (१५ सय मिटर) काम सम्पन्न भइसकेको छ।

धावनमार्ग तीन हजार मिटरको छ। मौसमका कारण बाधा उत्पन्न नभए झन्डै दुई महिनामा धावनमार्ग सम्पन्न हुने आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए।‘जति समय पहिलो तहको सम्पन्न गर्नमा लाग्छ त्यसको आधा समयमा पुरा धावनमार्ग नै तयार हुन्छ’, अधिकारीले भने, ‘ठेकेदारले एउटा पेभर (पिच गर्ने मेसिन) थप गरेर दुईवटा मेसिन प्रयोग गर्ने भएकाले धावनमार्ग छिट्टै तयार हुने भएको छ।’

धावन मार्ग पिचका लागि ठेकेदारले असाफल्ट मेसिन पनि थप गरेको छ। जसबाट एक÷दुई दिनभित्र काम सुरु हुन्छ। हालसम्म एउटा मेसिनबाट काम हुँदै आएको थियो। यसले धावनमार्ग चाँडै सम्पन्न हुन मद्दत पुग्नेछ। ‘मुख्य संरचनामा बढी ध्यान दिएका छौं, विमानस्थलको सबै काम समानान्तर ढंगले अगाडि बढेको छ’, उनले भने, ‘कुनै बाधा अवरोध नआए वैशाख÷जेठ महिनासम्म यस विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानहरूले उडान भर्नेछन्।’