राष्ट्रपतिलाई डेढ अर्ब खर्च गरेर हेलिकप्टर खरिद

सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।मन्त्रिपरिषद् बैठकबाट स्वीकृकत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो ।

सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सै घण्टा स्टयाण्डबाइ रहनेगरी महँगो हरिकप्टर खरिद गरेको हो ।  यो हेलिकप्टर केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहने र शितलनिवाससँगै जोडिएको प्रहरी प्रतिष्ठान हटाएर त्यहाँ हेलिप्याड निर्माण गरी सेनाको सुरक्षामा राखिने जनाइएको छ ।

राष्ट्रपतिकै लागि सरकारले केही महिनाअघि मात्रै मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर १४ करोड रुपैयाँका महँगा गाडीहरू किन्ने निर्णय गरेको थियो ।केही साताअघि नै हेलिकप्टर नेपाल आइसके पनि खरिद शर्त÷सम्झौताअनुसार कागजात बुझ्ने क्रममा भएका कारण हेलिकप्टर हस्तान्तरण प्रक्रिया भने पूरा भइनसकेको सेनाले जनाएको छ ।

सरकारले राष्ट्रपतिका लागि हेलिकप्टर खरिद गर्ने भन्ने बुँदा राख्दा देशभर विरोध हुनसक्ने देखेर ‘भीभीआइपीका लागि भन्ने’ वाक्यांश राखेको उच्च स्रोतले जानकारी दियो । सेनाका एक उपरथीले पनि अगुस्टा हेलिकप्ट राष्ट्रपतिका लागि नै भएको बताए ।

“इटलीबाट आएको अगुस्टा हेलिकप्टर राष्ट्रपति सवार हुँदा प्रयोग गर्न ल्याइएको हो, यसलाई नामाकरण भने ‘भीभीआइपी’ले प्रयोग गर्ने हेलिकप्टर भनिएको हो,” ती उपरथीले भने, “यो हेलिकप्टर राष्ट्रपतिका लागि २४ सै घण्टा स्ट्याण्डबाई रहने छ ।”

नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले राष्ट्रपतिका लागि खरिद गरिएको उल्लेख त गरेनन् । तर उक्त हेलिकप्टर भीभीआइपी उडान भर्न खरिद भएको बताए । उक्त हेलिकप्टर नेपाल आइसेकको जानकारी पाएको तर खरिद शर्त÷सम्झौता अनुसार भए÷नभएको बुझ्ने काम भइरहेकोले हस्तान्तरण कार्य बाँकी रहेको बताए ।