
पोखरा महानगरपालिका वडा नं. ५ द्वारा मालेपाटनका ८ कृषक उद्यमी आर्थिक एवं सम्मानपत्र हित पुरस्कृत भएका छन् । महानगरका उपमेयर मञ्जुरदेवी गुरुङले पोखरा ५ कृषि क्षेत्रमा उल्लेख्य योगदान गर्ने क्षेत्र भएको र कृषक उद्यमीहरुलाई पुरस्कृत गर्ने कार्यले महत्वपूर्ण तथा कृषक उद्यमीहरुलाई प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।
वडाध्यक्ष धनबहादुर नेपालीले निश्चित मापदण्डका आधारमा पुरस्कृत हुन सफल कृषक तथा उद्यमीलाई बधाई दिंदै कृषि अर्थतन्त्र बलियो बनाउने मुख्य आधार भएको बताए । कृषि महाशाखा प्रमुख मनोहर कडरिया, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख बसन्त श्रेष्ठ र पुरस्कृत व्यक्तित्व नवराज दुवाडीले यस्ता कार्यक्रमले कृषकको मनोवल बढाउने र कृषक उद्यमी बन्न थप ऊर्जा दिने बताए ।
पुरस्कृत हुने तरकारी खेती तर्फका कृषक नवराज दुवाडी, अञ्जली खत्री, बसन्त प्रसाद श्रेष्ठ, मिनादेवी आचार्य, पशुपालन कृषक तर्फ विशाल पौडेल, शुक्रमणि सापकोटा र उद्योग व्यवसाय तर्फ तिलकनाथ आचार्य र जितेन्द्र विश्वकर्मा रहेका थिए । पुरस्कृत किसान र उद्यमीलाई जनही रु.२० हजार र सम्मानपत्रले सम्मान गरिएको थियो ।