
गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
विद्यालयले हरेक २ वर्षमा प्रदान गर्ने पश्चिमाञ्चल गौरव पुरस्कार केन्द्रका अभियन्ता महावीर पुनलाई प्रदान गरेको छ । आविष्कार केन्द्र स्थापनामा थोरै भए पनि योगदान दिनका लागि सहयोग गरेको विद्यालयले जनाएको छ ।
विज्ञान र प्रविधिमा विशेष योगदान दिएको भन्दै आविष्कार केन्द्रका अभियन्ता पुनलाई १ लाख २५ (२५ हजार पुस्कार राशी र १ लाख सहयोग) हजार रुपैयाँको संयुक्त चेक हस्तान्तरण गरिएको हो ।
विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशकी सांसद मित्रकुमारी सुवेदी, पश्चिमाञ्चल फाउन्डेसन अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, पुरस्कार छनोट समितिका संयोजक प्राडा विश्वकल्याण पराजुली, प्राचार्य ताराबहादुर घिमिरे लगायतले पुरस्कार र सहयोग प्रदान गरेका थिए ।
पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्नका लागि व्यक्तिगत रुपमा जग्गा दिएर आर्थिक सहयोग जुटाउन थालेका थिए । सूचना प्रविधिका अभियन्ता पुन म्यासेसे पुरस्कार विजेता पनि हुन् । दुर्गम गाउँमा सुचना प्रविधि विस्तारमा उनले विषेश योगदान दिएका थिए ।
पुरस्कार छनोट समिति संयोजक प्राडा विश्वकल्याण पराजुलीले पुनले सूचना प्राविधिका लागि विश्वकै लागि योगदान दिएको बताए । त्यही योगदान स्वरुप ३० जना व्यक्तिमध्येबाट पुन छनोटमा परेको उनले बताए । विद्यालयले २ वर्ष अघि पहिलोपटक यो पुरस्कार विज्ञान क्षेत्रमा अनुसन्धान गरेको भन्दै डा. कपील अधिकारीलाई प्रदान गरेको थियो । विज्ञान र प्रविधिको क्षेत्रमा योगदान दिने व्यक्तिलाई २ वर्षको फरकमा विद्यालयले यो पुरस्कार प्रदान गर्दै आएको छ ।
विद्यालयका प्राचार्य ताराबहादुर घिमिरेले पुनको योगदानको सबैले सिको गर्नुपर्ने बताए । पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष कोइरालाले पुनको सिको अरुले पनि गर्न सके राष्ट्रका लागि महत्वपूर्ण योगदान हुने बताए ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा शुक्रबार गरेको रक्तदानमा ६० जनाले रक्तदान गरेका थिए ।