रेबान पोखराको आयोजनामा हुन लागेको २० औं पोखरा सडक महोत्सव सफल पार्न शुक्रबार पोखरामा छलफल भएको छ । छलफलका सहभागीले सडक महोत्सवमा विगतमा भएका कमजोरी सच्याउँदै यसपटक अझै व्यवस्थित पार्न सुझाव दिएका छन् ।
उनीहरुले ट्राफिक व्यवस्था, फोहोर मैलाको उचित व्यवस्थापन, भीड नियन्त्रण, सार्वजनिक शौचालय व्यवस्थित पार्किङ लगायतमा आयोजकले ध्यान पु¥याउनुपर्नेमा जोड दिए । रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष पुसको १३ देखि १७ गतेसम्म लेकसाइडको झण्डै ३ किलोमिटर क्षेत्रमा महोत्सव गर्दै आएको छ ।
नयाँ वर्षको स्वागतका लागि महोत्सवमा जानेहरुले लेकसाइडको सडक खचाखच हुने गर्छ । यस्तोमा ठूलो दुर्घटना हुन सक्नेतर्फ ध्यान दिंदै आयोजकले सुरक्षा व्यवस्थापनलाई चुस्त पार्नुपर्नेमा पनि सहभागीले जोड दिए ।
दमकल, एम्बुलेन्स लगायतलाई तयारी अवस्थामा राख्नुपर्ने, महोत्सव स्थल बसुन्धरा पार्कमा जाने आउनेको भिडमा मानिस थिचिन सक्ने भन्दै त्यसका लागि वैकल्पिक बाटो खोजी गरिनुपर्ने, घटना भइहाले तत्काल उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्ने लगायतका विषयमा पनि सहभागीले सल्लाह दिएका छन् ।
रेवान पोखरा अध्यक्ष भीमसेन भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा रेवानका सल्लाहकार सूर्यबहादुर भुजेल, महासचिव गणेश थापा, वडा नम्बर ६ का वडाध्यक्ष जगत पहारी, पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेल, पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष अशोक पालिखे, नेपाल पर्यटन बोर्डका सूर्य थपलिया लगायतले बोलेका थिए ।