गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा विष्णुराज बरालले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराए । कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा मन्त्रिपरिषद्का सदस्यकोे उपस्थिति थियो ।
गत साउनमा ३ महिनाका लागि आयोगको विज्ञका रुपमा नियुक्त डा बराललाई मङ्सिर १९ गतेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । लमजुङ क्वोलासोथार गाउँपालिकाका ३५ वर्षीय डा बराल जलविद्युत, सिँचाइ तथा पूर्वाधार विषयका विज्ञ हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ऊर्जा तथा पूर्वाधार विकासमा दक्षता हासिल गरेका डा बरालको सदस्य पदमा भएको नियुक्तिले प्रदेशको नीति तथा योजना निर्माणमा सरकारलाई फाइदा पुग्ने बताए ।
डा बरालले प्रदेशको आवश्यकताअनुसार विकासका लागि योजना बनाउन आफू लागि पर्ने बताउँदै आफूले प्राप्त गरेका ज्ञान र अनुभवलाई प्रदेशको विकासमा लगाउने प्रतिबद्धता गरे ।