शशांक कांग्रेस सभापतिमा उठ्ने

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसका संस्थापक नेता तथा आफ्ना पिता बीपी कोइरालाको अधुरो सपना साकार पार्न १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन् ।

कांग्रेसको जारी केन्द्रीय समितिमा भाग लिन बिहीबार पार्टी मुख्यालय सानेपा आएका महामन्त्री कोइरालाले पत्रकारहरूसँग आफू मेडिकल क्षेत्रबाट राजनीतिमा होमिनुको कारण बीपीको सपना साकार पार्नु रहेको बताए ।

‘मैल राजनीति गर्नु परेको बीपीको अधुरो सपनालाई साकार पार्न हो । प्रतिष्ठित मेडिकल क्षेत्र छाडेर म राजनीतिमा आएको हुँ,’ महामन्त्री कोइरालाले भने, ‘बीपीको अधुरो सपना पूरा गर्न निश्चय नै म सभापतिमा उठ्छु ।’

महाधिवेशन आउन दुई वर्ष बढी समय बाँकी रहेकाले साथीहरूको सल्लाहअनुसार आफू अघि बढ्ने उनले बताए । महामन्त्री कोइरालाले जो–जो बीपीको सिद्धान्तमा अविचलित भएर लागिरहेका छन् उनीहरु सभापतिका लागि सक्षम रहेको तर्क गरे ।

‘बीपीको सिद्धान्तमा अविचलित भएर लागिपरेका साथीहरू सबै कोइराला परिवारका सदस्य हुन् । मेरो त रगतको नातामात्रै हो,’ कोइरालाले भने, ‘धेरै साथीहरूले तपाईं सभापति हुनुपर्छ भन्नुभएको छ, त्यतिले पुग्दैन । हाम्रा साथीहरूको राय के छ, त्यसमा निर्भर रहन्छ ।’

महाधिवेशन नआउन्जेल सभापति शेरबहादुर देउवालाई सहयोग गरेर अघि बढ्ने पक्षमा आफू रहेको पनि उनले बताए । शुक्रबारदेखि सुरू हुने महासमिति बैठकले पार्टीलाई थप गति दिने कोइरालाले बताए ।