चिसोको कारण अस्पतालमा बिरामीको संख्यामा बृद्दि

मौसमी फ्लुका कारण भाइरस चिसो मौसममा बढी मात्रामा सक्रिय हुने भएकाले अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ । वीर अस्पतालमा मात्रै चिसोका कारण दैनिक ३ सय बढी बिरामी पुग्ने गरेका छन् ।

चिसो बढेसँगै देशभरका अस्पतालमा दैनिकजसो बिरामीको चाप बढ्दै गएको छ । रुघाखोकी, इन्फ्लुएन्जा संक्रमण, भाइरल ज्वरोका बिरामीको चाप अस्पतालमा दिन प्रतिदिन बढ्दै गएको हो ।

साधारणतया चिसो मौसममा रुघाखोकी, ज्वरो, इन्फ्लुएन्जाका बिरामी ४० प्रतिशतले बढ्ने अस्पतालको तथ्यांक छ । स्वास्थ्य केन्द्रमा पनि भाइरल इन्फेक्सनका बिरामीको चाप बढेको छ ।

यस्ता छन् जाेगिने उपाय

— तातोपानी सकेसम्म धेरै मात्रामा पिउने 
— हावा आवतजावत गर्ने कोठामा बस्ने
— भाइरल फ्लु लागेका मानिसबाट दूरी कायम गर्ने 
— भिटामिन ‘सी’युक्त फलफूलको धेरै सेवन गर्ने 
— श्वासप्रश्वासका समस्या भएकाले विशेष सतर्कता अपनाउने र समयसमयमा चिकित्सकसँग परामर्श गरिरहने

वीर अस्पतालको ओपीडी टिकट शाखाका अनुसार चिसो सुरु हुनुअघि श्वासप्रश्वास र छाती दुख्ने समस्या भएका २ सय जना बिरामी आउने गरेकामा पछिल्ला दिनमा दैनिक ३ सय बढी आउने गरेका छन् ।

ओपीडी टिकट शाखा प्रमुख सावित्री श्रेष्ठका अनुसार बुधबार भने चिसोबाट पीडित बिरामी केही कम आएका छन् । बुधबार ८९० जना बिरामी उपचारार्थ आएकामा ११४ जना श्वासप्रश्वास र छाती दुख्ने समस्याका छन् ।

यस्तै, चिसो बढेसँगै गंगालाल हृदयरोग निवारण केन्द्र बाँसबारीमा दैनिक सय जना बिरामी चिसोको समस्याबाट आउने गरेका छन् । केन्द्रका प्रशासन विभाग प्रमुख दीपेन्द्र खड्काका अनुसार विगतमा चिसोसँग सम्बन्धित ८० जना बिरामी आउने गरेकोमा पछिल्ला दिनमा सय जनासम्म आउने गरेका छन् । जसअन्तर्गत हृदयाघात, छाती दुखाइ र उच्च रक्तचाप प्रकृतिका रहेका छन् ।

यस्तै, मेडिसिटी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी समस्या भएका ५० जना बढी बिरामी पुग्ने गरेको सो अस्पतालकी सूचना अधिकारी मनीता पोख्रेलले बताइन् । फिजिसियन डा. सुजयदत्त पौडेलका अनुसार चिसो मौसममा दम, मुटु र निमोनियाका समस्या भएका बिरामीले सावधानी अपनाउनुपर्ने देखिन्छ ।