दुई कोरियाका सेनाले सिमा पार गरे

उत्तर कोरिया र दक्षिण कोरियाका सेनाले एक अर्काको देशको सिमा नाघेका छन् । कोरिया विभाजन भई दुईवटा देश बनेपछि ती देशका सेनाले पहिलो पटक सौहार्दपूर्ण रुपमा एक अर्काको देशको सिमा पार गरेका हुन् । दुई देशका सेनाले गैर सैन्य क्षेत्रमा रहेका सैनिक पोष्ट हटाउने क्रममा ति क्षेत्रको निरिक्षण गरेका हुन् ।

सिमा पार गर्ने क्रममा दुबै देशका सेनाले एकअर्कासँग हात मिलाएका थिए ।  सन् १९५० को दशकमा भएको कोरिया युद्धले कोरियाली प्रायद्विपलाई दुई देशमा विभाजन गरेको थियो जसको कुनै औपचारिक शान्ति सम्झौता भएको छैन ।  पछिल्ले समय दुई कोरियाबीच युद्ध अन्त्यकालागि वार्ताहरु भइरहेका छन् ।

त्यहि वार्ताका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच सैन्य पोष्ट हटाउने सहमति भएको थियो । त्यहि सहमति अनुसार दुबै देशका सेनाले सैन्य पोष्ट हटाइएको वा नहटाइएकोबारे एक अर्काको सिमामा गइ जाँच गरेका थिए ।  दुई देशका नेताबीच गएको अप्रिलमा ऐतिहासिक वार्ता भएको थियो ।