पोखराको बजार क्षेत्रमा अनावश्यक तारहरु हटाउने अभियान

पोखराको मुख्य बजार क्षेत्रमा बिजुलीको पोलमा रहेका अनावश्यक तारहरु हटाउने अभियानको सुरुआत गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी । महानगरपालिकाले ४० दिने अभियान बिहीबारबाट सुरु गरेको हो ।

पहिलो चरणमा सिद्धार्थचोकदेखि न्युरोडहुँदै सभागृहचोक, दोस्रो चरणमा पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार पृथ्वीचोकहुँदै सभागृहचोक, तेस्रो चरणमा सभागृहचोकदेखि सिर्जनाचोक, जिरोकमीहुँदै लेकसाइडको हल्लनचोक र चौंथो चरणमा हल्लनचोकदेखि बाराहीचोक, गौरीघाट, सहिदचोकहुँदै मुस्ताङचोकसम्म अभियान सञ्चालन हुनेछ ।

पोलमा राखिएका अनावश्यक तारहरुकै करण सहर कुरुप हुनका साथै दुर्घटना समेत भएकाले महानगरले यो अभियान सुरु गरेको हो ।