राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५ सय ३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिश गरेको छ ।
केन्द्रले साउनयता १ सय ४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३सय १८ र तोकिएको पोशाक नलाउने १ सय ६२ गरी ५ सय ३० जना कर्मचारीलाई कारवाहीको लागि सिफारिश गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।
ती कर्मचारीलाई विभागीय कारवाही गर्नका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको उनले बताए ।
केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका एक हजार १४० कार्यालय अनुगमन गर्दा करीब दुई हजार ३४० जना कर्मचारीलाई समय पालना नगरेका र पोशाक नलगाउने कर्मचारीलाई कारवाहीको लागि सिफारिश गरेको थियो ।
यस्तै केन्द्रमा अझै २३७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । मुख्यमन्त्री कार्यालयबाट कात्तिक मसान्तसम्म केन्द्र स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण आउनुपर्नेमा नआएको केन्द्रका प्रवक्ता लामिछानेले जानकारी दिए ।
स्थानीय तहले पहिलो पटक सम्पत्ति विवरण बुझाउँदैछन् । स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण जिल्ला समन्वय समितिमार्फत मुख्यमन्त्रीमा जाने र मुख्यमन्त्रीबाट केन्द्रमा जाने गर्दछ ।