प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताएका छन् ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने बताउँदै एक वर्ष अगाडि राजधानी परिवर्तन नगरिने र आगामी पुसभित्रै प्रदेशको नामाकरण गरिने बताए ।
उनले भने, “करीब दश महीनाको अवधिमा हामीले सारा संरचना तयार गरेका छौँ, १३ वटै जिल्लामा हाम्रा कार्यालय स्थापना भइसकेका छन् । डिभिजन कार्यालय सबै बनिसकेका छन् ।” हामीलाई कानूनको अभाव थियो । हामीलाई टेक्ने ठाउँ थिएन । कानून थिएनन् । कानून नबनाइकन अगाडि बढ्ने हामीसँग कुनै आधार थिएन । त्यसैले हामीले कानून बनाउनको लागि प्राथमिकता दिएका थियौँ ।”
मुख्यमन्त्री पौडेलले आफूहरूको अब केन्द्रीय सरकारसँग मुख्य माग भनेको नै केन्द्रीय सरकारले बनाउनुपर्ने कानून छिटो बनाउन आग्रह गर्दै भने, “हामीले २५÷२६ वटा कानून बनाइसक्यौँ । त्यो प्रमाणित पनि भइसकेको छ । त्यसैले अब काम गर्नको लागि धेरै समस्या हामीलाई छैन ।”
साझा अधिकारका केही कानून पहिला केन्द्रले बनाउनुपर्नेमा जोड दिँदै उहाँले अहिले प्रदेश प्रहरी ऐन, भूमिसम्बन्धी ऐनलगायत केही कानून केन्द्रले बनाउनुपर्ने बताए ।