लायन्स क्लब अफ पोखरा लेकसिटीको स्थापनाको २५ औं वर्ष गाँठको अवसरमा पोखरामा राष्ट्रिय स्तरको ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । अपांगता भएका व्यक्तिहरुले पनि समाजमा केही गर्न सक्छन् भनी उनीहरुको हौसला बढाउन मंसिर २९ गते शनिबार प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मदन केसीले बताए।
पोखरा रंगशालामा हुने प्रतियोगितामा काठमाण्डौंबाट २ टिमसहित ४ टिमको सहभागिता हुने भएको अध्यक्ष केसीले जनाए । प्रतियोगितामा काठमाण्डौंको जाउलाखेल ह्विलचियर क्लब र नेपाल स्पाईन कड इन्जुरी, काठमाण्डौं, नेपालगन्जको ह्विलचियर बास्केटवल टिम र घरेलु टिम लेकसिटी ह्विलचियर बास्केटवल, पोखरा बीच खेल हुने भएको छ ।
लिग कम नकाउटका आधारमा हुने प्रतियोगिताका विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजार पुरस्कार पाउने छन् ।
प्रतियागिता गर्न विद्या मर्सानीको संयोजकत्वमा समिति बनेको छ । प्रतियोगिता गर्न करिब ३ लाख खर्च लाग्ने अनुमान छ ।