डायमन्ड एकेडेमीमा लागुऔषधबारे सचेतना

प्रहरी नागरिक साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय हंसपुर सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की, लेखनाथ सामुदायिक सेवा केन्द्र लेखनाथ तथा हाम्रो परिवार नेपाल लागुऔषध उपचार तथा पुनःस्थापन केन्द्रको संयुक्त आयोजनामा डायमन्ड एकेडेमीमा लागुऔषधबारे सचेतनामुलक कार्यक्रम भएको छ ।


कार्यक्रमा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष सोमनाथ बास्तोलाले स्कुलले बालबालिका नै लागुऔषधमा बढी फस्ने गरेको बताए । विद्यालयका व्यवस्थापक हरिप्रकाश लामिछानेले स्कुल तथा कलेजमा यस्ता कार्यक्रम गरिरहनुपर्नेमा जोड दिए ।


इलाका प्रहरी कार्यालय हंसपुरका प्रमुख प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले समाजलाई उन्नतिको दिशामा लैजान र स्वस्थ समाज निर्माण गर्न लागुऔषध विरुद्ध सबैको एकीकृत प्रयास आवश्यक भएकोमा जोड दिए । प्रशिक्षणमा कक्षा ११ का १ सय विद्यार्थी सहभागी थिए ।


कार्यक्रममा सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष रमेश ओझा, हाम्रो परिवार नेपालका परामर्शदाता अमृतकुमार भट्टराई र सामुदायिक सेवा केन्द्र लेखनाथका त्रिलोचन लामिछानेले पनि बोलेका थिए।