प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन ७ सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिले वाइड बडी विमान खरीद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न सांसद राजेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको सभापति भरतकुमार शाहले जानकारी दिए ।
उपसमितिमा सदस्यहरू प्रेमबहादुर आले, मीना सुब्बा, चन्दा चौधरी, कृष्णलाल महर्जन, प्रदीप यादव र धर्मशीला चापागार्इं छन् । उपसमितिले महालेखा परीक्षकको कार्यालय र सार्वजनिक खरीद अनुगमन कार्यालयको प्रतिवेदनलाई मुख्य आधार मानेर प्रतिवेदन तयार गर्ने कार्यादेश पाएको छ ।
समितिले यसअघि महालेखा परीक्षकको प्रतिवेदनमा देखाइएको बेरुजुका आधारमा जहाज खरीदका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत मन्त्रालय र निगमका उच्च पदस्थ अधिकारीसँग छलफल गरिसकेको छ ।
समितिको निर्देशन अनुसार, सार्वजनिक खरीद अनुगमन कार्यालयले समेत विमान खरीदका सम्बन्धमा आफनो प्रतिवेदन समिति समक्ष बुझाइसकेको छ । उपसमितिको प्रतिवेदन प्राप्त भएपछि समितिले जहाज खरीद सम्बन्धमा के–कस्तो ढङ्गबाट अघि बढ्ने सन्दर्भमा निष्कर्षमा पुग्ने सभापति शाहले जानकारी दिए ।