बागलुङ सदरमुकामको बाङ्गेचौर देखि पर्वतको पाङ जोड्ने अग्लो झोलुङ्गे पुल बनाइने भएको छ । अर्थ मन्त्रालयले पुल निर्माणका लागि बजेट दिने सहमति दिएपछि बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिका जोड्ने गरी मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माण हुने निश्चित भएको हो ।
बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरी निर्माण गर्न लागिएको पुल ५ सय ६७ मिटर लामो र १ सय ६० मिटर अग्लो हुनेछ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख कुमार थापाले पुल बनाउनका लागि काम अगाडि बढेको जानकारी दिए ।
२०५९ सालदेखि पुल निर्माणको चर्चा चले पनि लामो दुरी भएकाले लठ्ठा तान्न समस्या हुने भन्दै अध्ययन प्रक्रियामै रोकिएको थियो ।
बागलुङ नगरपालिकाको पहलमा ३ महीना अगाडि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले पुनः सर्वेक्षण गरी पुल निर्माणमा आवश्यक लठ्ठा तान्ने मेसिन खरीदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । अर्थ मन्त्रालयले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरीद गर्न ४० लाख बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया शुरु भएको हो ।
बागलुङ बजारदेखि नजिकै देखिने पाङको अदुवाबारीसम्म पुग्नका लागि ठूलो खोँच पार गरेर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि पुल बनाउन लागिएको हो ।