गोरखाका ४ गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएकोे छ । गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलीकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको पकेट क्षेत्र घोषणा गरेको हो । जिल्लाको उच्च हिमाली भेकमा जडीबुटी खेतीको राम्रो सम्भावना रहेकाले तिनको विस्तार र प्रशोधन गर्ने उद्देश्यले पकेट क्षेत्र छनोट गरिएको उक्त कार्यालयका प्रमुख इमनाथ पौड्यालले जानकारी दिए ।
‘‘छनोट भएका गाउँपालिकामा जडीबुटीको व्यावसायिक खेतीको राम्रो सम्भावना देखिएको छ,’’ उनले भने, “पकेट क्षेत्र घोषणा भएका ठाउँमा कार्यालयले विशेष कार्यक्रम गर्ने तयारी गरिरहेकोे छ ।”कार्यालयले अजिरकोट र धार्चे गाउँपालिको सबै क्षेत्र र बारपाक सुलीकोट र आरुघाट गाउँपालिकाका वडा नं १ देखि ४ सम्मका वडालाई पकेट क्षेत्रमा समेटेको छ ।
उनले ती स्थानमा चिराइतो, सतुस, कुड्की, बन लसुन टीमुर, काउलो, दालचिनी, रिठ्ठा, सुनगाभालगात जडिबुटीहरू प्रसस्तै उत्पादन हुने भएकाले तिनको संरक्षण, सङ्कलन, प्रशोधन र बिक्री गर्न सके जिल्लाकै आर्थिक सुधारमा जडीबुटीले ठूलो योगदान पुर्याउने बताए । जिल्लाको उच्च हिमाली भेकमा पाँचऔले, यार्सागुम्बा जस्ता बहुमूल्य र दुर्लभ जडीबुटी समेत पाइन्छन् ।