धराप तार हटाउँदै पोखरा महानगर

सुन्दर पोखराको कुरुप तारहरु अब व्यवस्थित गरिने भएको छ । सडक छेउमा रहेका बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारका कारण दुर्घटनाको जोखिम पनि छ ।


दुर्घटनाको जोखिम र कुरुप बढाएका यस्ता तारहरु व्यवस्थित गर्न पोखरा महानगरले बिहीबारबाट काम सुरु गर्ने भएको छ । महानगरले नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायी लगायतका संस्थाका प्रतिनिधि बोलाएर तार व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ ।


पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलसहित नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, एनसेलसहित बाराही इन्टरनेट, टेलनेट प्रालि, पोखरा केबल, बर्डलिंक कम्युनिकेसन र पोखरा इन्टरनेट लगायतका संस्थाका प्रतिनिधिको मंगलबार भएको बैठकले तार व्यवस्थापन सहजीकरण समिति गठन गरेको छ ।


महानगरका उपसचिव तथा सूचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा गठित तार व्यवस्थापन समितिका सदस्यमा नेपाल टेलिकमका शेषकान्त बस्याल, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर आनन्द सापकोटा, एनसेलका नेपाल सुवोध रेग्मी, बाराही इन्टरनेटका सुरेन्द्रबहादुर थापा, जेएनआइसिटीका सोमराज गुरुङ, टेलनेटका विनोद हुमागार्इँ, पोखरा केबल मनोज गुरुङ, पोखरा इन्टरनेट अजित तामाङ, वर्डलिंक कम्युनिकेसनका विनोद केसी, महानगर प्रहरी असई पुरुषोत्तम थापा, सूचना प्रविधि अधिकृत र पोखरा महानगरपालिकाका इन्जिनियर अशोक द्वारे छन् ।


महानगरले सुरुमा मुख्य बजार क्षेत्रका चोकका तार व्यवस्थापन चरणबद्ध रुपमा गर्ने भएको छ । सिद्धार्थचोक, बिपीचोक, न्युरोड र सभागृहचोकका तार व्यवस्थापन पहिलो चरणमा हुने छ । महानगर प्रमुख जिसीका अनुसार मंसिर २७ गते बिहीबार बिहान बिपीचोकबाट तार व्यवस्थापन सुरु हुनेछ ।

दोस्रो चरणमा बिपीचोकदेखि साघँुको मुख, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै सभागृहचोकसम्मका तार व्यवस्थापन गरिनेछ । तेस्रो चरणमा सभागृहचोकदेखि सृजनाचोक, जिरो किमी, हल्लनचोकसम्म र चौथो चरणमा हल्लनचोकदेखि सहिदचोक, मुस्ताङचोकसम्मका तारलाई व्यवस्थित गर्ने गरी योजना बनाइएको मेयर जिसीले बताए ।


पोखराका अव्यवस्थित तार व्यवस्थापनमा महानगरले पहल सुरु गरेको भए पनि तार व्यवस्थापन भने सम्बन्धित निकायले नै गर्नुपर्ने महानगरले जनाएको छ । ‘तार व्यस्थापन गर्ने क्रममा सम्बन्धित सबै निकाय उपस्थित हुनुपर्ने छ,’ महानगरका प्रशासकीय अधिकृत शेषनारायण पौडेलले भने, ‘जसको तार हो, आफंैले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’