कृत्रिम ताल बनाएर बुवाको सम्झना

 रामपुरका स्थानीयवासी कृष्णप्रसाद भण्डारीले बुबाको सम्झनामा कृत्रिम ताल बनाएका छन् ।भण्डारीले रामपुर नगरपालिका–५ स्थित तल्लो भम्बक बहखोला किनार नजिकै छ रोपनी जमीनमा स्व बुवा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गरेका हुन् । “बुबाको पहिलेदेखिको सपना रहेको र रामपुरको पर्यटन विकासलाई अगाडि बढाउन मद्दत पुगोस् भन्ने उद्देश्यले ताल निर्माण गरिएको हो”, उनले भने ।

पर्याप्त सिँचाइ सुविधा पुगेको तीन बाली उत्पादन हुने खेतीयोग्य जमीन मासेर ताल निर्माण गरिएको छ । छ रोपनी खेतमध्ये पाँच रोपनीमा ताल विस्तार भइसकेको छ भने बाँकी भागमा बाल उद्यान तथा पार्क निर्माण गर्ने तयारी भइरहेको भण्डारीले बताए । अनुमानित रु २५ लाखको लागतमा कृत्रिम ताल र पार्क निर्माण कार्य सम्पन्न हुने उनको भनाइ छ । पार्क परिसरमा माटोको घरसमेत निर्माण गरिएको छ । यसले थप आकर्षक बनाएको छ ।

तालमा एक वटा आधुनिक डुङ्गा र एक वटा स्थानीय सामानबाट निर्माण गरिएको डुङ्गा सञ्चालन भइरहेको छ । स्थानीयवासी नन्दबहादुर कुमालले तालमा डुङ्गा सञ्चालन गर्दै आएका छन् ।