
सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको हो । बीमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका अध्यक्ष कुमारप्रसाद कोइरालाले जानकारी दिए ।
बीमा कम्पनीलाई देशकै उत्कृष्ट बनाउने योजनाका साथ अघि बढेको दाबी गर्दै उहाँले जीवन सुरक्षाका लागि बीमा अनिवार्य भएको बताए । बीमामा १६ देखि ६० वर्ष उमेर समूहले सहभागिता जनाउन सक्नेछन् । कम्पनीका सद्भावना दूत कलाकार जीतु नेपालले आफ्नो जीवन सुरक्षाका लागि बीमा गर्नुपर्नेमा जोड दिए ।
न्यूनतम रु पाँच लाखमा जीवन बीमा गर्न सकिने भन्दै कम्पनीले प्रतिहजार विमाङ्कमा रु ७० बोनस सुनिश्चित रहेको कार्यक्रममा जानकारी दिइएको थियो । कम्पनीको अधिकृत पूँजी रु ३ सय करोड र जारी पूँजी रु २०० करोड रहेको विमा कम्पनीमा चुक्ता पूँजी रु १ सय ४० करोड रहेको कार्यक्रममा जानकारी दिइयो ।
कुल बीमा लेख सङ्ख्या सात हजार ३३२ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न २५ वटा कार्यालयबाट सेवा दिँदै आएको छ ।