भ्रष्टाचारविरुद्ध निर्मम ढंगले लाग्छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान  आयोगद्वारा आइतबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गरे । 

प्रधानमन्त्री ओलीले भने, “अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन् तर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार भएको भइछ, भनेपछि यो कति डरलाग्दो छ ।”

    आत्मअनुशासित, कानूनको परिपालना गर्ने मानव जाति आफू नैतिक एवं इमान्दारको स्वबन्धनमा नबाँधिएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुने बताउँदै प्रधानमन्त्री ओलीले भने, “यहाँ भएका सबैले भ्रष्टाचार नगर्ने हो भने आधा जति भ्रष्टाचार रोकिएला नेपालमा ? सुन्दा अप्रिय लागे पनि कि भ्रष्टाचार गर्दै नगरौँ, कि गर्ने भए साँचो कुरा गरौँ ।”

विगतमा भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले भन्दा फरक मनसायले व्यक्ति विशेषलाई दुःख दिने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारविरुद्धको प्रयास सकारात्मक ढङ्गबाट अघि बढिरहेको उल्लेख गरे ।

आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले मुलुकमा सुशासनका लागि चुनौतीका रूपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तर्फबाट सार्थक प्रयासको खाँचो आँैल्याए ।

 मुख्य सचिव लोकदर्शन रेग्मीले मानव जीवन र जगत्लाई विकृत बनाउने भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिएमा समाजमा विवेक र न्याय हराउने पक्षलाई हेक्का राखेर काम गर्न निजामती कर्मचारीलाई निर्देशन दिए ।
 
 ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले विश्वमा नै महारोगका रूपमा परिचित भ्रष्टाचारले मानिसलाई नकारात्मक क्रियाकलाप गर्न उद्यत गरेकामा त्यसलाई नियन्त्रण गर्न सरोकारवाला निकाय एकताबद्ध हुन जरुरी भएको बताए ।