लेखनाथ महोत्सव हेर्न स्थायी पास

लेखनाथमा हुने १५ औं लेखनाथ महोत्सवका लागि स्थायी पास बिक्री सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना र विभिन्न संघ संस्थाको सहयोग र सहभागितामा हुन लागेको महोत्सव ‘लेखनाथको संस्कृति स्थानीय उत्पादनको विकास र समृद्धी’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि १६ गतेसम्म हुँदै छ ।

पोखरा २७ डाडाँकोनाक तालचोकमा हुने महोत्सवमा १२ दिनका लागि एउटै पासले काम गर्ने गरी तयार पारिएको स्थायी पासको बिक्री वितरण सुरु गरिएको संघका उपमहासचिव एंवं प्रचारप्रसार संयोजक गोपिचन्द्र बास्तोलाले बताए । यसका लागि २ सय ५० रुपैयाँ लाग्छ ।


लेखनाथ महोत्सवको प्रवेश टिकट साधारणका लागि ६० र विद्यार्थी सहुलियतमा ४० रुपैयाँ तोकिएको छ ।

रात्री कन्र्सटका लागि १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था भए पनि स्थायी पास बनाएकालाई थप शुल्क नलाग्ने जनाइएको छ ।


पास लिएपछि महोत्सव अवधिभर मेलाको अध्ययन अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले बताए ।

लेखनाथ महोत्वसमा राखिएका विभिन्न विधा अन्तर्गत कवि शिरोमणि लेखनाथको सम्झनामा राखिएको खुला कविता प्रतियोगितामा समावेश तथा कविता बाचन प्रतियोगिता पुस २ गते संघको सभाहलमा हुने संयोजक नवराज अधिकारीले जानकारी दिए ।