पोखरा २१ का सबै स्कुल सेनेटरी प्याड युक्त


पखरा महानगर वडा २१ का विद्यालयलाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको छ । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत वडा कार्यालयको सहयोग तथा सामाजिक जागरणका लागि नारी अभियानको पहलमा आइतबार विद्यालयलाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको हो ।


वडाका मावि तहका विद्यालयलाई ५० थान सेनेटरी प्याड, हेन्ड वास, टाबेल हस्तान्तरण गर्दै वडाध्यक्ष खगराज आचार्यले सम्पूर्ण विद्यालयमा निशुल्क सेनेटरी प्याड व्यवस्थापन गर्ने प्रतिबद्धता गरे । उनले संवेदनशील विषयमा कसैको ध्यान नपुगेको भन्दै यो विषयलाई सानो नसोच्न र सेनेटरी प्याडको व्यवस्थापन गर्न विद्यालयलाई अनुरोध गरे ।


अभियन्ता सुष्मा पौडेलले सबै विद्यालयमा सफा खानेपानी, शौचालय र सेनेटरी प्याड व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले विद्यालय तहमा महिनावारी, प्याडको प्रयोग र चुनौती विषयमा सहजीकरण गरेकी थिइन् ।


वडा सदस्य अम्बिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नन्दलाल अधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा फोहरमैला व्यवस्थापन समितिका अध्यक्ष देवी पोख्रेल, विद्यालयका मावि तहका प्रधानाध्यापक खिमलाल भण्डारी, नारायणदत्त अधिकारी, प्रावि तहका शिक्षका लक्ष्मी पोख्रेल लगायतले वडालाई प्याडयुक्त बनाउन आआफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए ।


यसअघि पोखरा वडा ५ र १६ का शैक्षिक संस्था सेनेटरी प्याडयुक्त भइसकेका छन् ।