
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विधान लगायतका विषयमा छलफल जारी रहेका बेला नेता रामचन्द्र पौडेल पक्षधरले छुट्टै भेलाको आयोजना गरेको छ। आइतबार विहान नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षधर नेता भेला भएका थिए।
आगामी महासमिति बैठक र विधानका विषयमा उक्त भेलामा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। पौडेल पक्षधर पदाधिकारी बढाउने पक्षमा छ भने सभापति देउवा पक्षधर केन्द्रीय ससदस्य बनाउनुपर्ने र सभापतिलाई झन शक्तिशाली बनाउनुपर्ने पक्षमा छ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा विधान मस्यौदा समितिले पेश गरेको विधानका विषयमा छलफल जारी छ।
नयाँ विधानमा केन्द्रीय सदस्यको संख्या बढाउन प्रस्ताव गरिएको छ भने एक व्यक्ति एक पदको अवधारणा पनि ल्याएको छ। उक्त विधान हुबहु पारित भए केन्द्रीय सदस्यको संख्या बढ्ने, सभापति शक्तिशाली हुने छन्। त्यसलाई रोक्न पौडेल समूहले पदाधिकारी थप्नुपर्ने र सभापतिको अधिकार कटौती गर्नुपर्ने आवाज उठाएका छन्।
सोही विषयमा छलफल गर्न आइतबार विहान पौडेल पक्षधर नेताहरु प्रकाशमान सिंहको निवासमा भेला भएका हुन्। कविर तीन घण्टा चलेको बैठकमा आगामी महासमिति बैठक र विधानका विषयमा छलफल केन्द्रत रहेको एक नेताले जनाए।
उक्त भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, चन्द्र भण्डारी, गगन थापा, मिनेन्द्र रिजाललगायतका पौडेल पक्षधर नेता सहभागी थिए।