कृषि नमूना फार्मका लागि ५ गुणा बढी आवेदन

माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका गोपाल पोखरेलले ३ वर्षदेखि पशुपालन गर्दै आएका छन् । भारद्वाज कृषि फार्म दर्ता गरेर सुरुमा १० वटा भैंसीबाट पशुपालन थालेका उनले व्यवसाय विस्तार गर्ने सोचमा छन् । कृषि मन्त्रालयले नमूना फार्म स्थापना गर्न अनुदान उपलब्ध गराउन व्यावसायिक प्रस्ताव माग गरेपछि पोखरेल पोखरा १२ माटेपानी स्थित भेटेनरी अस्पतालमा आफ्नो व्यावसायिक सोचअनुसार व्यवसाय उन्मुख फार्म स्थापनाको लागि निवदेन दर्ता गराए ।

पोखरेलले भने, ‘व्यवसाय विस्तार गरेर जीविकोपार्जनका साथमा थोरै संख्यामा भए पनि रोजगारी दिने सोच छ तर, लगानीको स्रोत छैन । सरकारले ल्याएको कार्यक्रम उपयुक्त लागेर व्यावसायिक योजना दर्ता गराएँ ।’ गण्डकी प्रदेशमा स्थापना गर्न लागिएको कृषिको नमूना (मोडल) फार्म कार्यक्रममा पोखरेलको मात्र होइन अन्य किसान, फार्म तथा कृषि उद्यमीकोसमेत आकर्षण देखिएको छ ।

लामो समय कृषि व्यवसाय गरिरहेकादेखि कृषि कार्य गर्ने सोच बनाएकासम्म सरकारी कार्यक्रममा आकर्षित भएका छन् । सरकारले ४ सयको संख्यामा नमूना फार्म स्थापनाको लागि प्रस्ताव आह्वान गरेपछि त्यसका लागि ५ गुणा बढी आवेदन परेको छ । नमूना फार्म सञ्चालन गरी किसानलाई पेसामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमशील बनाउने कार्यक्रमको मुख्य उद्देश्य छ ।

साना नमूना, व्यवसाय उन्मुख, व्यावसायिक र उद्यमी नमूना फार्मका लागि प्रस्ताव आह्वान गरिएकोमा १ हजार ९ सय ९८ ले परियोजना प्रस्ताव दर्ता गराएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले जानकारी दिए । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयले गत असोज १२ गते १ महिना समय दिएर पहिलोपटक प्रस्ताव आह्वान गरेको थियो ।

साना नमूना फार्म स्थापना गर्न पशुपालनतर्फ २ सय १७, कृषिमा १ सय ६४, व्यवसाय उन्मुख पशुमा ५ सय ११ तथा कृषिमा २ सय १२ प्रस्ताव दर्ता भएको छ । व्यावसायिकतर्फ पशुमा ३ सय ५२, कृषिमा ९४ तथा उद्यमी नमूना फार्ममा पशुमा ३ सय १४ र कृषिमा १ सय ३४ रहेको मन्त्रालयका शाखा अधिकृत कमल पुनले जानकारी दिए ।

पछि म्याद थपेर कात्तिक मसान्तसम्म आवेदनको समय दिइयो । पशुपालन, तरकारी, फलफूल, माछा तथा कुखुरालगायत कृषिका जुनसुकै व्यवसाय गरिरहेका तथा गर्न इच्छुक किसान, कृषि उद्यमी तथा फार्मलाई परियोजनाको पहिलो वर्षको लागतको बढीमा सरकारको तर्फबाट ५० प्रतिशत अनुदान दिई त्यसलाई नमूना बनाउने योजना सरकारको छ ।

साना नमूना फार्म स्थापना गर्न पशुपालनतर्फ २ सय १७, कृषिमा १ सय ६४, व्यवसाय उन्मुख पशुमा ५ सय ११ तथा कृषिमा २ सय १२ प्रस्ताव दर्ता भएको छ । व्यावसायिकतर्फ पशुमा ३ सय ५२, कृषिमा ९४ तथा उद्यमी नमूना फार्ममा पशुमा ३ सय १४ र कृषिमा १ सय ३४ रहेको मन्त्रालयका शाखा अधिकृत कमल पुनले जानकारी दिए ।

परियोजना पेश गर्ने मध्येमा अधिकांशले पशुपालनमा रुचि देखाएका छन् । पशुपालनको लागि प्रस्ताव पेस गर्नेको संख्या कृषिभन्दा बढी छ । अनुदान दिन सरकारले चालू आवमा ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ जसमा कृषितर्फ २५ करोड, पशुपंक्षी र माछापालनलाई १५ करोड छ ।

साना नमूना फार्मका लागि पहिलो वर्षको प्रस्तावित लागत १० लाख, व्यवसाय उन्मुखका लागि १० लाखभन्दा बढी तथा व्यावसायिक नमूना फार्मका लागि २५ लाखभन्दा बढी, उद्यमी नमूना फार्मलाई ५० लाख बढी लागत रहनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयका सचिव श्रेष्ठका अनुसार नमूना फार्म खोलेपछि किसानले उसको सम्पूर्ण पारिवारिक खर्चमा योगदान दिन सक्षम होस् भन्ने उद्देश्य रहेको बताए । उनका अनुसार १० लाखसम्मको साना नमूना फार्मको आवेदन सम्बन्धित जिल्लाका ज्ञान तथा विज्ञकेन्द्रबाट छनोट गरी सम्झौता गरिनेछ । त्यस्तै १० लाखमाथि व्यवसाय उन्मुख फार्मको कार्यान्वयन कृषि तथा मत्स्य विकास निर्देशनालयबाट र २५ लाख माथिका व्यावसायिक र उद्यमी फार्मको कार्यक्रम कार्यान्वयन मन्त्रालयले गर्ने बताइन्छ ।

प्रदेशका कृषि ज्ञान केन्द्र, भेटेरीनरी तथा पशु विज्ञ केन्द्रमा किसानले बुझाएको उक्त आवेदनको अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । दर्ता भएका परियोजना प्रस्तावलाई किसानले आफ्नो वडा कार्यालयमा भरेको किसान वर्गीकरणको आधारमा मूल्यांकन गरी त्यसका आधारमा प्रस्ताव छनोट गर्ने तयारी मन्त्रालयको छ ।