गर्भैबाट संगीत बोकेर आएको छु : विक्रम बराल


संगीत अनुरागीमा मात्र होइन, सबै नेपालीबीच नेपाल आइडलको चर्चा छ । एपीवान टिभीबाट सञ्चालन भएको नेपाल आइडल ४ प्रतिश्पर्धीमध्ये एक विक्रम बरालको चर्चा पनि कम छैन ।


शनिबार गृहनगर पोखरामा विक्रमलाई भव्य स्वागत गरियो । ‘आमाको सपना र बुबाको आशीर्वाद सफल हुनलाई यहाँहरुको साथ सहयोग भए पुग्छ,’ बरालले आत्मविश्वासका साथ भने, ‘मैले आमाको गर्भबाटै संगीत बोकेर आएको हुँ । राम्रो दिने कोशिस सदैव गर्नेछु । तर साथ हजुरहरुको चाहिन्छ है !’


उनकै छेऊमै थिए आमा सरस्वती र बुबा सान्तराम । बहिनी ममता र ज्वाँइ राजन पनि पत्रकार सम्मेलनमा आएका थिए । नेपाल आइडलको टिम पनि छुट्ने कुरै भएन । आमाले निकै राम्रो गाउने भएकाले आमाबाट गायकी पाएको उनले बताए ।


‘मेरी आमाले मैनबत्ति उद्योगमा काम गरेर मलाई महिनाको १ सय ५० रुपैया दिनु हुन्थ्यो । दुईवटा रिलवाला चक्का किनेर गीत डविङ गर्दै आफ्नो आवाज सुन्थे र सुनाउँथे,’ उनी विगत सम्झिदाँ भावविभोर भए ।


विक्रमकी आमा सरस्वतीले कालिपारे दाइ कति राम्रो भन्ने गीत गाएर सुनाइन् । उनको धोको नेपाल आइडलको रुपमा छोरालाई देख्ने छ ।


शान्तरामले छोराको रहर देखेर गितार किनिदिएको स्मरण गरे । नजिकै रहेका विक्रमका संगीत गुरु नवराज बरालले उनको संगीत प्रतिको लगाव, धैर्य र उस्तै मिठो गलाको प्रशंसा गरे ।


विक्रमलाई पोखरा महानगर प्रमुख मानबहादुर जिसीले स्वागत गरेका थिए । पोखराको शान भन्दै महानगरमा मेयर जिसीले बधाई दिदै नेपाल आइडल बन्न शुभकामना दिए ।


उनलाई विक्रम बराल जिताउँ अभियानले स्वागत गदै बाजा गाजा र झाँकीसहित पोखरा परिक्रमा गराएको थियो । पोखरा उद्योग बाणिज्य संघले विक्रमलाई सम्मान गर्ने कार्यक्रम रहेको विक्रम बराल जिताउँ अभियानका महासचिव मनकुमार श्रेष्ठ जानकारी दिए ।