राष्ट्रिय परोपकार महासंघको अग्रसरतामा लेखनाथबासीले आयोजना गरेको श्रीमद भागवत विराट ज्ञान महायज्ञ शनिबार सुरु भएको छ ।
कार्यक्रममा वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले उचित योजना र व्यवस्थापन अभावमा बेगनासताल लगायत अन्य गन्तव्य ओझेलमा परेको बताए । उनले अब गुरुयोजनासहित यो क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने उल्लेख गरे ।
प्रदेश सांसद विकास समिति सभापति दीपक कोइरालाले फेवातालको विकासलाई बेगनास र रुपातालसँग कसरी जोड्न सकिन्छ भनेर संसदमा पनि पटक पटक छलफल भएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्की उपाध्यक्ष सावित्री भण्डारी, साविक लेखनाथका वडाध्यक्षहरुको तर्फबाट वडा नं ३१ का वडाध्यक्ष कमलबहादुर थापा, इलाका प्रशासन कार्यालय लेखनाथ प्रमुख चित्रांगत बराल, लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, लायन्स सामुदायिक अस्पतालका अध्यक्ष मेजर रामप्रसाद गुरुङ, महायज्ञ कार्यसम्पादन समितिका उपाध्यक्षद्वय राममणि अधिकारी र तीर्थकुमारी बरुवाल, बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट लगायतले बोलेका थिए ।
महायज्ञ मूल आयोजक समिति अध्यक्ष डिल्लीरमण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव धु्रबनाथ अधिकारीले स्वागत तथा सचिव कृष्णप्रसाद ढुंगानाले सञ्चालन गरेका थिए ।
भागवत भाष्कर कमलनयन गौतम प्रमुख वाचक रहेको महायज्ञबाट करिब ५ करोड संकलन हुने जनाइएको छ ।