बागलुङको गलकोट नगरपालिका ३ हटिया बजारमा हटिया स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ । जनतालाई सर्व–सुलभ तरिकाले स्वस्थ्य सेवा पुर्याउन सुविधा सम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । सहरी विकास कार्यालयको २ करोड १६ लाख १७ हजार लागतमा सो भवन निर्माण गरिएको हो ।
नयाँ बाटो जुम्ली निर्माण कम्पनीले ठेक्कामार्फत २०७१ पुसमा उक्त भवन निर्माण थालेको थियो । भवनको पूर्वाधार निर्माण गरेर शहरी विकास तथा भवन कार्यालयमार्फत स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तान्तरणको तयारी भइरहेको नयाँ बाटो जुम्ली निर्माण सेवाका सञ्चालक कुमार खड्काले बताए ।
“हाल सेवा दिइरहेको स्वास्थ्य चौकी भवन निकै पुरानो र साघुँरो छ” हटिया स्वास्थ्यचौकीका प्रमुख तथा वरिष्ठ स्वास्थ्य सहायक दिलु सुवेदीले भने, “बिरामीलाई भौतिक संरचनाको अभावमा एउटै कोठाबाट फरकफरक सेवा दिन बाध्य थियौँ नयाँ भवनम सरेपछि यस्तो समस्या हटेर जानेछ ।
”सुवेदीका अनुसार अन्य वडाका स्वास्थ्यचौकीमा भन्दा यहाँ बिरामीको चाप धेरै हुने गरेको छ । बर्थिङ सेन्टरका लागि छिमेकी वडा काँठेवास, दुदीलाभाटी तथा हरिचौरबाट समेत गर्भवती आउने गरेको हुँदा नयाँ भवनले सेवा प्रवाहमा निकै सहज पुर्याउने सुवेदीको भनाइ रहेको छ । भुकम्प प्रतिरोधी १७ कोठाको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधि भण्डार कक्षको छुट्टाछुट्टै व्यवस्था गरिएको शहरी विकासका इञ्जिनीयर तेजेन्द्रप्रसाद शर्माले बताए ।