पोखरा एक्स्पोमा उद्यमशीलता शिक्षा

पोउवा संघद्वारा आयोजित नयाँबजारमा जारी सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेलामा उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ ।

नेपाल महिला उद्यमी संघमा आवद्ध महिला उद्यमीको सहभागिता रहने छ भने कार्यक्रममा संयोजनमा उद्यमशीलता चाहने महिलालाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक तथा संघका उपमहासचिव चिनु गुरुङले बताइन् । कार्यक्रम शुक्रबार र शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्रमै आयोजना हुने गुरुङले बताइन् ।

मेला समय बढ्दै जाँदा दर्शक र कारोबारमा पनि वृद्धि भएको छ । संघका महासचिव अर्जुन पोखरेलका अनुसार मेलामा रहेका घरायसी सामान तथा अन्य दैनिक उपभोेग्य बस्तुको किनेमेल बढ्दै गएको छ भने मनोरञ्जनात्मक कार्यक्रमहरु पनि उत्कर्षतिर पुगेको छ ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत नै शुक्रबार अर्थात मंसिर २१ गते चर्चित पप गायक अविनाश घिसिङको विशेष प्रस्तुति रहने साँस्कृतिक उपसमितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीले जानकारी दिए ।

लोकदोहोरीतर्फ प्रजापति पराजुली, पशुपति शर्मा, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, पार्वती जिसी, सरला पाण्डे, सीता केसी, अमर धिताल, रामजी पौडेल, ज्योति लोहनी, केशव घिमिरे, लक्ष्मी सुवेदी, सीता परियारलगायतले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने छन् ।

एक्सपोमा आयोजना भएको लोकदोहारी प्रतियोगिता अन्तर्गत सुमन केसीको समूह र दोहोरी गीत प्रतिष्ठान स्याङ्जाको भीडन्त पनि शुक्रबारको आकर्षण रहनेछ । चण्डिका आमा समूह, नमूना आमा समूह, नेपाल प्रहरी महिला संघ, गण्डकी प्रदेशको रत्यौली तथा तायः मचाः साँस्कृतिक झाँकी पनि महोत्सवको आकर्षण रहेको छ ।

यता प्रवेश टिकटमा राखिएको दैनिक पुरस्कार अन्तर्गत बुधबार काटेको टिकटबाट सरस्वती नेपालीले करिब २५ हजार बराबरको युरोगार्ड उपहार प्राप्त गरेकी छन् । उनले बुधबार काटेको टिकट नम्बर ८०५६ को अर्धकट्टीको आधारमा पुरस्कार प्राप्त गरेकी हुन् ।