मंसिर २२ देखि बेगनासमा महायज्ञ

लेखनाथमा मंसिर २२ देखि २९ सम्म आयोजना गर्न लागिएको श्रीमद्भागवत् विराट महायज्ञको तयारी पूरा भएको छ ।

श्रीमद् भागवत् विराट ज्ञान महायज्ञ मूल आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । बेगनासताल र यस वरिपरिका क्षेत्रमा पूर्वाधार निर्माण गरी उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पहल स्वरुप महायज्ञ गर्न लागिएको हो ।

बेगनासतालमा डुबेर निधन भएकाहरुको आत्माको शान्तिको कामना गर्दै महायज्ञ गरिन लागेको हो । आयोजकले अहिलेसम्म बेगनासतालमा डुबेर मर्ने १ सय ८ जनाको नामावली बनाएको छ ।

महायज्ञ सफलतापूर्वक सञ्चालन गर्न पूर्व न्यायाधीश डिल्लीरमण तिवारीको अध्यक्षतामा १ हजार ८ सदस्यीय मूल आयोजक समिति , १५ सदस्यीय कार्यसम्पादन समिति र प्रचार प्रसार उपसमितिसहित ४७ वटा उपसमिति गठन गरिएको थियो ।

महायज्ञका लागि समारोह व्यवस्थापन, जनपरिचालन, मण्डप तथा मञ्च व्यवस्थापन, भोजन, सरसफाइ सुरक्षा लगायतका सम्पूर्ण प्राविधिक तथा सामाजिक कामको जिम्मेवारी बाँडफाँड भइसकेको छ ।

मंसिर २२ गते बिहान पूर्वाङ्ग तथा कलशयात्रा, हरेक दिन बिहान ७ देखि ११ बजेसम्म नित्य पूजाअर्चना, पूर्वाह्न्न ११ बजेदेखि अपरान्ह ४ बजेसम्म कथावाचन, अपरान्ह ४ः१५ बजे आरती, अपरान्ह ४ः४५ बजे प्रसाद ग्रहण, प्रत्येक दिन साँझ ५ः३० बजे महाआरती , मंसिर २८ गते अपरान्ह दीप प्रज्ज्वलन, र मंसिर २९ गते अपरान्ह यज्ञ सकिनेछ ।

महायज्ञ अवधिमा दान उद्घोषण, संकलन, मानसम्मान एवं सुशोभन गरिने आयोजक समितिका महासचिव तथा प्रवक्ता धु्रवनाथ अधिकारीले जानकारी दिए ।

महायज्ञबारे भागवत भाष्कर कमलनयन गौतमले पर्यटन पूर्वाधार विकासका लागि महायज्ञनै अन्तिम विकल्प नभए पनि महायज्ञको माध्यमबाट हरेक घरदेखि राज्यसम्मका संयन्त्रलाई पर्यटन प्रवद्र्धनमा घचघच्याउने शक्ति प्राप्त हुने बताएका थिए ।