प्राविधिक शिक्षा राज्यको प्राथमिकतामा ः तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्राविधिक एवम् गुणस्तरीय शिक्षा राज्यको पहिलो प्राथमिकता भएको बताएका छन् ।

पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ७ राम्जाठाँटीस्थित पशुपति माविको स्वार्णजयन्ती समारोह बिहीबार उद्घाटन गर्दै उनले मुलुकको समृद्धिका लागि प्राविधिक एवम् व्यवसायिक शिक्षाको विकल्प नभएको बताए । पढेर केवल जागिर खाने मात्र सोचमा परिवर्तन अपरिहार्य भएकोमा जोड दिंदै उनले प्राप्त शिक्षालाई समाज र राष्ट्र हितमा उपयोग गर्नुपर्ने औल्याए ।

देशको परिवर्तित राज्य व्यवस्थालाई आत्मसाथ गर्दै सरकारले आगामी फागुन २१ भित्रमा ३३९ वटा विद्यमान ऐन कानून परिमार्जन गर्न लागेको जानकारी दिंदै उहाँले यस बीचमा १२४ वटा नयाँ कानून बन्ने बताए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री विकास लम्सालले पोखरालाई पर्यटनको राजधानि घोषणाका लागि संघसंग आवश्यक पहल भइरहेको जनाए । बढ्दो पर्यटक आगमनलाई दृष्टिगत गर्दै सरकारले होटल व्यवस्थापनका साथै घरबास कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको उनले बताए ।

सरकारको नीति तथा कार्यक्रममानै प्रदेशभित्र ३ सय वटा होमस्टेको विकास गर्ने लक्ष्य राखिएकोमा प्रत्येकलाई पूर्वाधार विकासका लागि प्रथम चरणमा १० लाख रुपैया दिने बताए । होमस्टेको समग्र विकासका लागि प्रति होमस्टे ३० लाख रुपैया दिने सरकारको योजना छ ।