नेपाल शैक्षिक परामर्श संघले गर्दै आएको शैक्षिक मेला यो वर्ष मंसिर २६ देखि हुने भएको छ । छैटौं संस्करणको मेला पोखरा सभागृहमा हुनेछ ।
मेलामा ७० वटा स्टल राखिने र करिब ३० हजार विद्यार्थीले मेला अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलाका स्टल तथा प्याभेलियनबाट सम्बन्धित देशका कलेज तथा क्याम्पसबाट सूचना र जानकारी दिइने शैक्षिक मेला विभाग संयोजक सन्दीप अर्यालले बताए ।
ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलामा अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, नर्वे, फिन्डल्यान्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिको सहभागिता रहने इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए ।
‘यसबाहेक यसपालिको मेलामा नेपाली शिक्षण संस्थाका प्रतिनिधि पनि रहनुहुनेछ,’ उनले भने, ‘पहिले स्वेदश अनिमात्रै विदेश भन्ने नीति लिएका छौं ।’
विदेश अध्ययन गर्ने जानेमा पोखरा र आसपासका जिल्लाका विद्यार्थी संख्या धेरे रहेकाले यतैका विद्यार्थी लक्षित गरेर कार्यक्रम आयोजना गरिएको क्षेत्रीले बताए ।
‘मेलामा विदेश अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई त्यहाँको शिक्षा नीति, रहनसहन, वातावण समाजबारे जानकारी दिने छौं,’ उनले भने ।
मेला मंसिर २८ सम्म चल्नेछ ।