दोहोरो बाटोले छिचोलेको चौरमा पोखरा विश्वविद्यालयका विद्यार्थीले तीन दिने फुटबल प्रतियोगितालाई टुग्याएका छन् । पोखरा पटक आयोजित ‘प्रथम सेभेन ए साईड स्ववियु कप’ फुटबल प्रतियोगिताको उपाधि पुरुष तर्फ इन्जिनियरिङ संकाय जितेको छ । महिला तर्फको पुरस्कार भने व्यवस्थापन संकायले उचाल्यो ।

विश्वविद्यालय भन्दा केही पर रहेको चौरमा आयोजित प्रतियोगिताको फाईनलमा पुरुष तर्फको प्रतिस्पर्धामा इन्जिनियरिङले व्यवस्थापन संकाय(बीबीए)लाई १–० गोलले पराजित गर्दैै उपाधि उचाल्यो । मनोज श्रेष्ठको निर्णायक गोलमा इन्जिनियरिङले उपाधिसहित नगद १२ हजार रुपैयाँ प्राप्त गर्यो ।

महिला तर्फको प्रतिस्पर्धामा भने व्यवस्थापन संकायले हेल्थ साईन्सलाई २–० ले पराजित गर्दै उपाधि उचाल्न सफल भएको थियो । रमा रोकाया र विनिता सुवेदीले गोल गर्दै उपाधि सुनिश्चित बनाएका थिए ।

स्वास्थ्य विज्ञान संकायको आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियुन(स्ववियु) पोखरा विश्वविद्यलायको व्यवस्थापनमा आयोजित प्रतियोगितामा विभिन्न चारवटा संकायका पुरुष तर्फ १० र महिला तर्फ ४ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजेता महिला तथा पुरुष खेलाडीलाई राष्ट्रिय खेलुकद परिषदका सदस्य राजेश गुरुङले पदक तथा ट्रफी प्रदान गरेका थिए । पुरस्कार वितरण गर्दै गुरुङले खेलकुद क्षेत्रमा युवापुस्ताको लगाव अझै बढ्नुपर्ने बताउँदै खेलकुद क्षेत्रको विकासको लागि आफनो तहबाट सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा पुरुष तर्फ उत्कृष्ठ खेलाडी इन्जिनियरिङ(एम.ई)का प्रवीण थापा घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार महिला तर्फ विनिता सुवेदी र पुरुष तर्फ मनोज श्रेष्ठ घोषित भए । उनीहरुलाई ट्रफी प्रदान गरिएको छ ।

source : (खेलाडी न्युज)