मुस्ताङमा स्याउ खेतिलाई थप उत्पादनमुखि बनाउन बिभिन्न कार्यक्रमहरु संञ्चालन हुने भएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई स्याउ जोन मुस्ताङले चालु आर्थिक वर्ष ०७५–०७६ का लागि मुस्ताङका किसानलाई स्याउ जोन कार्यक्रममा सुचिकृत हुन आह्वान गरेको हो ।
परियोजना कार्यान्वयन ईकाईले पुस महिनाको २ गते भित्र स्याउ जोन कार्यक्रममा सुचिकृत हुन स्थानीय कृषक तथा स्याउ उत्पादक संस्था र समूहलाई सूचना प्रकाशित गर्दै अनुरोध गरेको परियोेजना कार्यान्वयन ईकाईका कृषि अधिकृत शिव पुजन गुप्ताले जानकारी दिए ।उनलृे परियोजना ईकाईमा व्यक्ति समूह र संस्था सुचिकृत भएपछि मुस्ताङमा स्याउ उत्पादक किसानहरु यकिन तथ्याङ्क समेत सार्वजनिक गरिने बताए ।उनका अनुसार स्याउ उत्पादक किसानहरु स्याउ जोन कार्यक्रम समावेश भएपछि उत्पादनमुखि हुने बिभिन्न कार्यक्रमबाट लाभान्वित हुने जनाए ।
मुस्ताङमा थासाङ गाउपालिकाको वडा नम्बर १ र २ सहित सबै स्थानीयतहलाई स्याउ जोन क्षेत्रको रुपमा सुचिकृत गरिएको हो ।परियोजना कार्यान्वयन ईकाई कार्यालय जोमसोमले सुचिकृतका लागि आवश्यक कागजातसहित प्रस्तुत हुन जानकारी गराएको छ ।मुस्ताङका ५ वटै स्थानीयतह गरेर कुल १२ सय हेक्टर जमिनमा स्याउका बोटहरु लगाईएको छ ।जसमध्ये सबैभन्दा बढी स्याउ उत्पादन हुने घरपझोङ गाउँपालिका रहेको ईकाई स्याउ जोन कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार यसपछि वारागुङ मूक्तिक्षेत्र गाउँपालिका र थासाङ गाउपालिका छन् ।लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकामा आंशिक स्याउ उत्पादन हुने गरेको छ ।
मुस्ताङमा यसवर्ष ५८ सय मेट्रिकटन स्याउ उत्पादन भएको हो । गतवर्ष ५३ सय मेट्रिकटन स्याउ उत्पादन भएकोमा यसवर्ष ५ मेट्रिकटन स्याउ बढी उत्पादन भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ईकाई स्याउ जोन मुस्ताङका कृषि अधिकृत शिव पुजन गुप्ताका अनुसार यसवर्ष ४ सय ५० हेक्टर जमिनमा लगाईएको १ लाख ३५ हजार स्याउका बोटबाट ५८ सय मेट्रिकटन स्याउ उत्पादन भएको हो ।
गत वर्ष ४ सय १५ हेक्टर जमिनमा लगाईका १ लाख २४ हजार ५ सय स्याउका बोटमा ५३ सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।यसवर्ष स्याउ बढी उत्पादन हुनुमा स्याउ फल्ने बोटको क्षेत्रफल बृद्धि मुख्य कारण भएको अधिकृत गुप्ताको भनाई छ ।यसवर्ष ३५ हेक्टर जमिनमा १० हजार ५ सय स्याउका फल लाग्ने बोट थपिदा स्याउ उत्पादनमा प्रगति देखिएको हो ।