राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताएका छन् ।
विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने उनले बताए ।
मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार भएको दाबी गरे । सरकारको ९ महिनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको उनले बताए ।
अध्यक्ष थापाले जनसङ्घर्ष शान्तिपूर्ण, गाउँगाउँदेखि सुरू भई काठमाडौँ केन्द्रित हुने जानकारी दिए । जनसङ्घर्ष कुनै राजनीतिक दल, सरकारको विरूद्ध नभइ नेपाली पहिचान र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहने पनि उनले प्रष्ट पारे ।