पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकले ६४ करोड २० लाख रुपैयाँ बराबरको बजेट पास गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको प्रतिष्ठानको दोश्रो सभाले सरकारले प्रदान गरेको २२ करोड २० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानीबाट उठेको ४२ करोड रुपैयाँको बजेट पास गरेको हो ।

बैठकमा प्रतिष्ठानका बिभिन्न १० एजेन्डाहरुसमेत प्रस्तुत् गरिएको थियो । बजेट आएको ६ महिनापछिमात्र बैठक बसेर बजेट पास गरेका कारण धेरै काम रोकिएको प्रतिष्ठानका पदाधिकारीहरुले बताएका थिए ।

२०७२ सालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समिति खारेज भइ प्रतिष्ठान स्थापना गरिएको थियो । बैठकले विकास समिति अन्तर्गत् रहेका कर्मचारीलाई प्रतिष्ठान अन्तर्गत् राखेको छ । नेपाल मेडिकल काउन्सिलले अनुमति दिएमा प्रतिष्ठानले यही वर्षदेखि ‘पोस्ट ग्र्याजुएसन’को कक्षा पनि सन्चालन गर्ने तयारी गरेको छ ।