गलकोटमा ऋषिरामको सम्झनामा स्मृतिद्वार

 बागलुङ नगरपालिकाका पूर्वप्रमुख ऋषिराम शर्माको सम्झनामा नगरपालिकाले स्मृतिद्वार निर्माण गर्ने भएको छ । साविक धौलागिरि अञ्चलको पहिलो नगरपालिकाका प्रमुख शर्माको कार्यक्षमता र दूरदर्शीका कारण नगरपालिकामा विकासको खाका तयार भएको भन्दै नगरपालिकाको नगरसभाले स्मृतिद्वार निर्माण गर्न आर्थिक वर्ष ०७५/०७६ मा १० लाख बजेट विनियोजन गरिएको छ ।

२०५४ देखि ५९ सालसम्म जननिर्वाचित पहिलो प्रमुख भएर बागलुङवासीका लागि ऐतिहासिक योगदान गर्न सफल भएको भन्दै उनको स्मृति तथा सम्मानमा बागलुङ नगरपालिका–४ कुडुँलेको तिरुपती चोकमा स्मृतिद्वार निर्माण गर्ने लागेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

“उहाँले नगरको संस्थागत विकासका लागि अगाडि सारेका योजना निकै दूरदर्शी पाइयो”, प्रमुख पौडेलले भने, “उहाँलाई नगरले सधँै स्मरण गर्न पाइयोस् भन्दै स्मृतिद्वार निर्माण गर्न थालेका हौँ ।”

“बागलुङ नगरपालिकाभित्रको चक्रपथ उहाँकै योजना थियो”, बागलुङ नगरपालिका–४ का वडाध्यक्ष धुव्रबहादुर केसीले भने । पूर्वप्रमुख शर्माले नगरभित्रको बस्ती विकास तथा सडक निर्माणको खाका, धौलागिरिकै एक मात्र आंगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पासको विकास, हालको धौलागिरि अञ्चल अस्पतालको सुधारलगायत नगरका धेरै क्षेत्रको विकासमा टेवा पुर्‍याएका थिए ।

पूर्वप्रमुख शर्माको २०७१ माघ १६ गते निधन भएको थियो । तत्कालीन कालिका, मूलपानी र लहरेपिपल गाविसलाई समायोजन गरी पहिलोपटक २०५३ साल माघ १८ गते बागलुङ नगरपालिकाको घोषणा गर्न ठूलो भूमिका खेलेका शर्मा २०५४ सालको स्थानीय निर्वाचनबाट प्रमुख चुनिएका थिए ।