वोटेफका सदस्यलाई लैगिंक हिंसाबारे सचेतना

महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का सदस्यलाई १ दिने लैंगिक हिंसा अन्त्यबारे सचेतना तालिम दिइएको छ । पर्यटन क्षेत्रमा महिलालाई सशक्त बनाउँदै व्यवसायिक रुपमा स्थापित तथा आत्मविश्वास बढाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले समतामूलक समाजका लागि महिला पुरुष दुबैको समान सहभागिता र साझेदारी आवश्यक हुने औंल्याए । लामिछानेले हिंसाका कारण विकासमा बाधा भएको भन्दै महिला पुरुष हातेमालो गरेरै अघि बढ्नुपर्नेमा जोड दिए ।

पोखरा पर्यटन परिषद्का महासचिव दीलप्रसाद गौतमले सामाजिक महिला पुरुष दुबैको समान सहभागिता आवश्यक उल्लेख गरे । पोखरा ६ का वडा सदस्य पुष्पा पहारीले कानुनको प्रभावकारी कार्यान्वयनको अभावमा हिंसा र अपराधले प्रश्रय पाएको बताइन् ।

संस्थाका सल्लाहकार देवका पहारीले महिलामाथि बढ्दै गएको हिंसा सामाजिक चुनौतिको विषय बनेको धारणा राखिन् । उनले हिंसाको कारण बुझेर त्यसको न्यूनीकरणतर्फ ध्यान दिनुपर्ने बताइन् ।

तालिममा इन्सेकका कार्यक्रम संयोजक सबनम शर्मा, सञ्चारिका समूह गण्डकी अध्यक्ष जमुना वर्षा शर्मा, मञ्चका अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष पार्वती पाण्डे, सचिव उमा भण्डारी र कार्यक्रम संयोजक मञ्जु कार्की लगायतले बोलेका थिए ।