५ सहरमा पेट्रोलियम सवारी हटाइने

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उनले प्रदेश सरकारले साझा यातायातकै ३० करोड शेयर खरिद गरेर विद्युतीय बस सञ्चालन गर्ने जनाए ।

सरकारले विसं २०८५ भित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ । यही नीति कार्यान्वयन गर्न मुख्यमन्त्री पौडेलले चालू आवमा साझाबाटै शेयर खरिद गर्ने प्रतिवद्धता जनाए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विद्युतीय सवारी विस्तार गर्न महानगरले चालू आवमा रु १० करोड बजेट विनियोजन गरेको जनाए ।