बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउन र कारवाहीका लागि प्राप्त सिफारिशलगायत कामका लागि पाँच समिति समिति गठन गरेको छ ।
भविष्यमा द्वन्द्व हुन नदिने उद्देश्यले संस्थागत सुधारको सुझाव तयारी समिति, परिपूरण सिफारिश तथा मापदण्ड तयारी समिति, पीडकको बयान कार्यविधि तयारी समिति, बेपत्ता पीडित परिचयपत्र वितरण कार्यविधि तयारी समिति र कारवाही सिफारिश मापदण्ड समिति गठन गरिएको हो ।
अध्यक्ष लोकेन्द्र मल्लिकको संयोजकत्वमा भविष्यमा द्वन्द्व हुन नदिन संस्थागत सुधारको सुझाव तयारी समिति गठन भएको छ भने आयोगका सदस्य विजुल विक दुलालको संयोजकत्वमा परिपूरण सिफारिश मापदण्ड तयारी समिति गठन भएको छ ।
त्यसैगरी आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकको संयोजकत्वमा पीडकको बयान कार्यविधि तयारी समिति, आयोगका सदस्य नरकुमारी गुरुङको संयोजकत्वमा बेपत्ता पीडित परिचयपत्र वितरण कार्यविधि तयारी समिति र आयोगका सदस्य आइबहादुर गुरुङको संयोजकत्वमा कारवाही सिफारिश मापदण्ड समिति गठन गरेको छ ।
आयोगका प्रवक्ता प्रा डा पाठकका अनुसार आयोगले निर्धारित समयमै काम सम्पन्न गर्नका लागि विभिन्न पाँचवटा समिति बनाएर काम गरिरहेको जानकारी दिनुभयो ।
म्याद आगामी माघ २७ गते सकिँदैछ । आयोगले बेपत्ता व्यक्तिको ५६ जिल्लामा विस्तृत अध्ययन गर्ने काम सम्पन्न गरेको छ ।