एक थोक छोड !

कि यशूका चेला बन
कि मार्क्सका चेला बन
कृपया एक थोक बन
यो वन्नै नसकिने कुरा
लौ न बन्छु नभन !

कि वाइवल पढ
कि कम्युनिष्ट घोषणापत्र पढ
कि गीता पढ
कि ‘राज्य र क्रान्ति’ पढ
कि वेद पढ
कि वर्ग संघर्ष पढ
कृपया एक थोक पढ
यो अध्यात्म र भौतिकवादको फ्युजन नपढ !

कि कमरेड बन
कि करप्टेड बन
कमरेड करप्टेड हुदैन
करप्टेड कमरेड हुदैन
यो हुँदै नहुने वकवास बन्द गर !

कि पूँजीवादलाई तेल घस्न छोड
कि समाजवादको गफ गर्न छोड
एउटा पक्र एउटा छोड
कृपया,
अनैतिक हुनको पनि सीमा हुन्छ
यो दुई जिब्रे आचरण आजै छोड !

कि बसेको ठाउँ छोड
कि वर्वराउँन छोड
कि छिछि भन्न छोड
कि छि भन्दै खाँदै गर्न छोड
कृपया ,
यो छि छि पनि भन्ने
र ढाडिएको जूको बन्ने
यो असत्ती तरिका आजै छोड !

बलराम तिमील्सिना

२०७५|०८|१८
सुवर्ण चोक, भक्तपुर