मुस्ताङको पुरानो यातायात समितिद्धारा लोकल सेवा

मुस्ताङको १२ वर्ष पुरानो यातायात समिति मुस्ताङ जीप तथा बस व्यवसायी समितिले स्थानीयको सेवा सुविधाका लागि आज मंगलबार देखि लोकल सेवा संञ्चालनमा ल्याएको छ ।

मुस्ताङमा सेन्डीकेट प्रथा कायम रहदा नियमित लोकल सेवा प्रवाह गर्दै आएको मुस्ताङ समितिले ३ वर्षपछि पूनः लोकल सेवा संञ्चालनमा ल्याएको हो ।यसका अलावा मुस्ताङमा भित्रिने अन्य जिल्ला बाहिरका समितले पनि आलोपालो लोकल सेवा दिने बताईएको छ ।जनताकै घरदैलो र जग्गा मासेर बनाईएको सडकमा स्थानीयले यो सुविधा नपाएपछि स्थानीय स्तरबाट यातायात व्यवसायीहरुको चर्को आलोचना भएको थियो ।प्रशासनले पटक पटक वार्ता र संम्वाद गरेर लोकल सेवा संञ्चालन गर्ने प्रयास भएपनि ठोस सहमति भएको थिएन ।

दुई साता अघि प्रमूख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री अध्यक्षतामा यातायात समितिहरुको सहमतिपछि भोली बुधबार १९ गते देखि आलोपालो सेवा दिन यातायात व्यवसायी मञ्जूर भएका हुन् ।मुस्ताङ जीप तथा बस व्यवसायी समितिले सहमतिको १ दिन अगावै लोकल सेवा संञ्चालनमा ल्याएको समितिका अध्यक्ष राजु लालचनले जानकारी दिए ।उनका अनुसार समितिले घासा देखि जोमसोम सम्म बिहान ७ बजे र जोमसोमबाट घाँसा सम्म अपरान्ह् ४ बजे बस छुटाउने छ ।जोमसोम देखि मुक्तिनाथ अपरान्ह् ३ बजे र मुक्तिनाथ देखि जोमसोम बिहान ९ बजे र जोमसोम–छुसाङ साविक अनुसारकै लोकल सेवा संञ्चालन हुनेछ ।

त्यस्तै,भोलि देखि औपाचारिक रुपमै वारागुङ ,घरपझोङ र थासाङ गाउपालिकामा लोकल सेवा सुरु हुने सिडियो गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।उनका अनुसार स्थानीयको सेवा सुविधाका लागि घोडाघोडी यातायात,मुस्ताङ कोरला,म्याग्दी जीप तथा बस संञ्चालक समिति र धौलागिरी यातायातले आलोपालो सेवा दिने बताए ।संघीय सांसद प्रेमप्रसाद तुलाचनले स्थानीयलाई लोकल सेवा दिलाउन व्यवसायी कन्भूज गराएको बताए ।उनले हवाई सेवामा समेत नेपालीलाई उच्चप्राथमिकता दिलाउने बारेमा समेत प्रयास भईरहेको जानकारी दिए ।