उपल्लो मुस्ताङ संग जोडिएको उत्तरी कोरलानाका आसापासका प्रहरी ईकाईहरु शुक्रबार देखि जिल्ला कार्यालयमा मर्ज भएका छन् ।हिउदयामको अत्यधिक चिसो ,हावाहुरी,सिरेटो र हिउ पर्न थालेपछि उक्त स्थानका प्रहरी ईकाईहरुलाई अस्थायी मर्ज गर्नु परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मर्ज गरिएका प्रहरी ईकाईहरुमा छोसेर,छोनुप,सुर्खाङ र घमी प्रहरी चौकी छन् ।यसवर्ष चराङ प्रहरी चौकी भने मर्ज भएन ।लोघेकर दामोदरकुण्ड गाउपालिकाको चराङमा चालु आर्थिक वर्ष देखि संञ्चालित प्रभू बैंक शाखाको सुरक्षार्थ उक्त प्रहरी ईकाई यथावत राखिएको प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।उनका अनुसार मर्ज गरिएका ४ प्रहरी ईकाईका ३३ प्रहरी जवानलाई जिल्ला मुकाममा गाभिएको बताए ।
जिल्ला प्रहरी कार्यालयले वर्षेनी सिमावर्ती क्षेत्रका प्रहरी ईकाईलाई जिल्ला मुकाममा मर्ज गर्दै आईरहेको छ ।हिउदयामको चिसो थेग्न प्रहरी ईकाईलाई चाहिने आवश्यक भौतिक पूर्वाधारको जोहो नहुदा वषौदेखि प्रहरी ईकाईलाई मर्ज गर्ने परम्परा रहेको हो ।सरकारले बाह्ै महिना उपल्लो मुस्ताङमा रहेर प्रहरी ईकाई बस्नसक्ने पूर्वाधार जुटाउन सरकारलाई माग गरिएको भएपनि यसको संम्वोधन हुन नसकेको प्रहरी नायव उपरिक्षक खड्काले जनाए ।
‘वर्षेनी हिउँदमा गरिदै आएको प्रहरी ईकाई मर्ज गर्ने परम्परालाई यसपटक पनि निरन्तरता दिएका हौ,’मुस्ताङका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले भने,‘मौसम प्रतिकुलका साथसाथै गाउँनै रिक्तो छ, खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुहरुको अभाव पर्ने देखिएकाले प्रहरी ईकाई मर्ज गर्नु परेको हो।’
खड्काका अनुसार यातायातका लागि चाहिने ईन्धन र सरकारले उच्च हिमाली क्षेत्रमा कार्यरत प्रहरीलाई न्यानो कपडा उपलब्ध हुन नसक्दा पूनस्थापना गर्नु परेको सुनाए।
मर्ज गरिएका चार प्रहरी चौकीहरु हिउँदको चिसो कम र स्थानीयहरु घर फर्कन थालेपछि साविक ईकाईमा पुनःस्थापना गरिने छ। उपल्लो मुस्ताङका स्थानीयहरु हिउँद महिना लाग्ने बित्तिकै चिसो छल्न बेशी झर्ने थाल्छन् । चिसो छल्न बेशी झरेका उपल्लो मुस्ताङका स्थानीयहरु विभिन्न व्यापार व्यवसाय संन्चालन गर्न पोखरा काठमान्डौ लगायत छिमेकी देश भारतका विभिन्न स्थानमा पुग्छन्। हिउँद महिनाको मंसिर,पौष, माघ फाल्गुन र चैत्र महिना बिताएर घमिलो मौसममा घर फर्कन्छन्।उपल्लो मुस्ताङबाट मर्ज भएका प्रहरी ईकाई बैशाख महिना लागेपछि साविक स्थानमा पुगेर सेवा संञ्चालन गर्ने गरिएको छ ।
मुस्ताङमा प्रहरीको दरबन्दी २ सय ८८ जनाको छ ।हाल जिल्लामा २ सय १० प्रहरी मात्र कार्यरत छन्, भने,७८ प्रहरीको दरबन्दी अझै रिक्त छ ।जिल्लाको ५ वटै स्थानीयतहमा प्रहरीका १९ वटा ईकाई छन् ।
थासाङमा घाँसा,लेते,कोवाङ,घरपझोङमा जिप्रका १ ,वारागुङ मूक्तिक्षेत्रमा कागबेनी,मूक्तिनाथ,छुसाङ,लोघेकरमा घमी,चराङ र लोमान्थाङ गाउपालिकामा लोमान्थाङ,छोसेर र छोनुपगरि १२ प्रहरी ईकाई छन् ।त्यस्तै,अतिरिक्त प्रहरी ईकाईहरुमा जोमसोम नागरिक उड्यन कार्यालय,जिल्ला ट्राफिक कार्यालय,पर्यटक प्रहरी,कारगार,जिप्रका आन्तरिक सुरक्षा ,अदालत र सामूदायिक प्रहरीगरि ७ वटा ईकाई छन् ।