संघीय संसद् अधिवेशन बोलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताए ।

संसद्को अधिवेशन बोलाउने सन्दर्भमा सरकारले प्रमुख प्रतिपक्षसँग हालसम्म कुनै परामर्श नगरेको र पुराना ३ सय भन्दा बढी कानुन संविधानसम्मत तुल्याउनुपर्ने, प्रदेश र स्थानीय तहसँग प्रत्यक्ष सरोकार राख्ने अरु थुप्रै कानून बनाउनुपर्ने भएकाले चाडै बैठक बोलाउन उनले मा गरे ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिले संसद् बैठक कक्षका सिट र त्यहाँ जडान भएका माइकलगायत उपकरणको मर्मत र सुधारको काम सकिनासाथ सरसल्लाह गरेर अविधेशन आह्वान हुने बताए ।

संसद् सचिवालयले संसद् बैठक कक्ष र आवश्यक उपरिणको मर्म सुधार र सरकारले आगामी अधिवेशनमा पेश गर्नुपर्ने विधेयकको तयारीलाई तीव्रता दिने काम भइरहेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ संसद् भवनभित्र मर्मत र सुधारका काम चलिरहेकाले यो सकिने बित्तिकै सरकारले अधिवेशन बोलाउने बताउँछन् ।