पोखरामा होटल तथा रेस्टुरेन्टमा चाहिने भाँडाकुँडा लगायतका सामानको बिक्रीकक्ष खुलेको छ । ३ व्यवसायीको लगानीमा इजी होटलवेयर प्रालि खुलेको हो ।
यसको सोमबार रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखराका अध्यक्ष भीमसेन भुजेलले उद्घाटन गरे । यादव घिमिरे, रामकृष्ण पौडेल, र राजु सापकोटाको संयुक्त लगानीको यो बिक्री कक्ष पोखराकै पहिलो भएको दाबी गरिएको छ । रेबान अध्यक्ष भुजेलले होटेल, रेस्टुरेन्टलाई चाहिने सामान किन्न धेरै भाँडा पसल चहार्नुपर्ने अवस्था अन्त्य भएको बताए ।
बिक्री कक्षमा काँटा, चम्चा, कप, प्लेट, गिलासदेखि लिएर कफी मेकर, आइसमेकर लगायत २ हजार भन्दा बढी प्रकारका सामान राखिएको इजी होटलवेयर प्रालिका अध्यक्ष यादव घिमिरेले बताए । काठमाडौंमा यस्ता ४÷५ वटा पसल भए पनि पोखराका बजारलाई ख्याल गरी आफूहरुले पहिलो पसल सुरु गरेको उनको भनाइ छ ।
सञ्चालकद्वय रामकृष्ण पौडेल र राजु सापकोटाले बजारको माग र आवश्यकता अनुसार सामान थप्दै जाने बताए । अहिले यो बिक्री कक्षमा करिब ३ करोडको लगानी भएको जनाइएको छ ।