पोखरा ५ का सबै शैक्षिक संस्थालाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको छ । शिक्षा समितिको आयोजना तथा वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा सोमबार उक्त घोषणा गरिएको हो ।
महानगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष धनबहादुर नेपालीले वडा ५ भित्रका सम्पूर्ण शैक्षिक संस्था प्याडयुक्त घोषणा गर्दै यसको कार्यान्वयनमा जोड दिए । उनले देख्दा सानो भए पनि संवेदनशील विषय रहेकाले सेनेटरी प्याड व्यवस्थापनमा वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वडादेखि सुरुआत भए पनि महानगरपालिकालाई प्याडयुक्त बनाउन महानगरपालिका प्रतिवद्ध भएको र राम्रो व्यवस्थापन गर्नेलाई पुरस्कृत गरिने बताए ।
पत्रकार सुष्मा पौडेलले सेनेटरी प्याडयुक्त अभियानमा प्रतिबद्धता सहित घोषणा गर्न लगाएकी थिइन् । उनले निशुल्क रुपमा शौचालयमा प्याड व्यवस्थापन गर्न अनुरोध गर्दै सफा शौचालय, खानेपानीको उचित व्यवस्थापनमा विद्यालयले ध्यान दिनुपर्नेमा जोड दिइन् ।
वडा सदस्य अञ्जु केसीले सामाजिक जागरणको पहल तथा वडाको सहयोगमा वडालाई प्याडयुक्त घोषणा गरिएको बताउँदै सबैलाई सहयोग गर्न आह्वान गरिन् ।
घोषणा सभामा बाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, विद्यार्थी सृष्टि केसी, समीक्षा पञ्चकोशी टोल सुधार समितिका अध्यक्ष मैयाँ अधिकारी, वडा सचिव ईश्वरीप्रसाद पोख्रेल लगायतले बोलेका थिए ।
वडा नं. ५ मा बाराही मावि, धर्मस्थली आधारभूत विद्यालय, शान्ति निकेतन बोर्डिङ स्कुल, समता शिक्षा निकेतन, हिलसाइड बोर्डिङ स्कुल, एकता सेकेन्डरी स्कुल, वीरेन्द्र मेमोरियल बोर्डिङ स्कुल, लिटिल वेल्स स्कुल छन् ।