गैरसरकारी महासङ्घ नेपालको अध्यक्षमा जीतराम लामा निर्वाचित भएका छन् ।
काठमाडौँमा सम्पन्न २४ औँ साधारणसभा तथा नवौँ महाधिवेशनले लामाको नेतृत्वमा आगामी तीन वर्षका लागि ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा धुव्र देव, उपाध्यक्षमा सुमित्रा शर्मा, महासचिवमा रामप्रसाद सुवेदी, उपमहासचिवमा अर्जुन भट्टराई र दिनेश चौधरी निर्वाचित भएको महासङ्घले जनाएको छ ।
त्यस्तै सचिवमा प्रत्येक प्रदेश हेर्ने गरी सातजना तथा कोषाध्यक्षमा विष्णु थकाली निर्वाचित भए । महिला, आदिवासी जनजाति, दलित र अपाङ्गता भएका व्यक्तिबाट पनि समावेशीकरणका आधारमा सदस्य निर्वाचित भएका छन् ।
नेपाली गैससहरूको छाता सङ्गठनका रुपमा २०४८ सालमा स्थापित गैसस महासङ्घमा हाल मुलुकभरीका छ हजार २३३ सदस्य संस्थाहरू आबद्ध छन् ।
महासंघ गण्डकी प्रदेशबाट महासचिव, सचिवसहित ६ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । महासचिवमा रामप्रसाद सुवेदी, सचिवमा देवीप्रसाद तिमिल्सिना, गण्डकी प्रदेश इन्चार्जमा काजीमान रोक्का, सहइन्चार्जमा गोमा ढकाल, केन्द्रीय सदस्यमा इश्वरलाल राजभण्डारी र भीमप्रसाद शर्मा निर्वाचित भएका छन् ।