पोखरा एकेडेमीलाई ह्यान्डबल च्याम्पियन

पोखरा एकेडेमीले प्रथम हङकङ ब्युटी १९ वर्षमुनिका खेलाडी सहभागी (यु–१९) महिला ह्यान्डबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालामा रहेको ह्यान्डबल एकेडेमीको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा एकेडेमीले न्यु ग्यालेक्सी स्कुललाई ८–३ ले पराजित गर्दै उपाधि सहित नगद १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र जितेको हो । उपविजेता न्यु ग्यालेक्सीले ५ हजार पाएको छ ।

प्रतियोगितामा पोखरा एकेडेमीकी दिप्ती गुरुङले ५ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि हात पार्दा न्यु ग्यालेक्सीकी सीमा गर्बुजा उत्कृष्ट खेलाडी घोषित भइन् । विजयी खेलाडीको टोलीलाई नेपाल ह्यान्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ, सल्लाहकार रामबहादुर गुरुङ, संघका जिल्ला अध्यक्ष क्या. जगबहादुर गुरुङ, सचिव टेकबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

मुख्य प्रायोजक हङकङ ब्युटी इन्स्टिच्युट प्रालिका प्रमुख कार्यकारी निर्देशक प्रजित गुरुङले महिलाको सशक्तीकरणमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताए ।