बालिकाको कलेजो फेर्न ४ चार लाख

-

जन्मदा नै कलेजोमा प्वाल रहेकी ६ महिनाकी सियाना पुनको कलेजो प्रत्यारोपणका लागि बेलायतबाट ४ लाख ३४ हजार ७ सय २० रुपैयाँ जुटेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तान घर भई हाल पोखरा २७, लेखनाथ निवासी प्रदीप रन्तिजा पुन र रेश्मा पुनकी जेठी छोरी सियानाको कलेजो प्रत्यारोपणका लागि बेलायतमा संकलित सहयोग रकम नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष एवं लोक तथा दोहोरी गायक सुरेन्द्र गुरुङमार्फत आइतबार हस्तान्तरण गरिएको हो ।

पुन मगर समाज, बेलायत र म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी)को पहलमा संकलित रकम ३ लाख ७७ हजार ५ सय २० रुपैयाँ सियानाकी हजुरआमा खरिमाया पुनलाई पुन मगर समाज, बेलायतका केन्द्रीय सदस्य गनबहादुर तिलिजा पुनले हस्तान्तरण गरेका हुन् । ५७ हजार २ सय रुपैयाँ यसअघि नै सियानाको परिवारलाई प्रदान भइसकको पुनले जानकारी दिए ।

लोक तथा दोहोरी गायक कुमार पुन र सियानाकी फुपू उमाया पुनले सियानाको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । बालिकाको भारतको सर गंगालाल अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकका अनुसार सियानाको कलेजो प्रत्यारोपणका लागि शल्यक्रिया खर्चमात्रै २० लाख भारतीय रुपैयाँ लाग्छ ।